गोश्वारा हुलाक चारखालमा सर्यो, सुन्धारामा फूलबारी र पार्किङ |
काठमाडौं । सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय चारखाल डिल्लीबजार सारिएको छ । धरहरा पुनर्निर्माण काम भइरहेको र हुलाक कार्यालय रहेको जग्गामा फूलबारी, भूमिगत पार्किङ बनाउनका लागि कार्यालय सारिएको हो ।
‘हुलाक कार्यालय सुन्धाराबाट चारखाल सार्यौंल,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले भने, ‘साविकको स्थानमा धरहरा परिसर फैलने भएपछि कार्यालय सार्नुपरेको हो ।’ चारखालबाट हुलाक कार्यालय सञ्चालनमा आइसकेको छ । ‘सुन्धारामा अब रमणीय पार्क र जमिनमुनि (भूमिगत) पार्किङ बन्छ,’ घिमिरेले भने,‘पार्कभन्दा तल भूमिगत पार्किङ हुन्छ ।’
कार्यालय सरेकोले भदौ १ गतेदेखि गोश्वारा हुलाक कार्यालयको पोस्टबक्स डेलिभरीको काम रोकिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार हुलाकको कुनै पनि सेवा अब सुन्धराबाट नदिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
धरहरा पुनर्निर्माणका लागि गत जेठमा काठमाडौं महानगरले भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गरेको थियो । कर्मचारी सञ्चय कोषले निर्माण गरेको २३ वटा टहरा भत्काइएको थियो । कोषको कार्यालय जाने बाटोमा बनाइएका टहरा महानगरले डोजर लगाएर भत्काएको थियो ।
‘टहराहरू, गोश्वारा हुलाक, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवनहरू महानगरले खाली गरिदिएको हो,’ महानगरका प्रवक्ता ईश्वर डंगोलले भने, ‘धरहरा निर्माण भने पुनर्निर्माण प्राधिकरणले नै हेर्ने गरी अघि बढेको हो ।’
धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी–रमन जेभीले पाएको छ । भत्किएको धरहरालाई त्यसै राखेर नयाँ धरहरा बनाउन लागिएको हो ।
अहिले धरहराको जग निर्माणको काम भइराखेको छ । २०७२ साल वैशाख १२ गते गोरखा भूकम्पका कारण नौ तले धरहरामा क्षति पुगेको थियो ।