संचालक र सीईओको असल नियत भए मर्जर सफल हुन्छ ː गभर्नर |
पाल्पा । गभर्नर डा. चिरञ्जीबी नेपालले सञ्चालक र सीईओको असल नियत भएमा मर्जर सफल हुने बताएका छन् । भर्खरै बिग मर्जर नीति लिएका गभर्नरले बुटवल पुगेर असल नियतले काम भए मर्जर सफल हुने बताएका हुन् ।
आईतबार तिनाउ र मिसन डेभलपमेन्ट गाभिएर बनेको तिनाउ मिसन डेभलपमेन्ट बैकको एकीकृत कारोबार उद्घाटन गर्दै मर्जरले बैंक बलियो र सबल हुने बताएका छन् । उनले बैकमा जम्मा भएको पैसा आफ्नो ठानेर मनमौजी गर्न नहुने बताए ।
नेपालले सर्बसाधारणबाट परिचालित पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन पनि आग्रह गर्दै राष्ट्र बैकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पुनर्कर्जाको दर घटाई दिएको बताए । उनले गलत गर्ने कसैलाई पनि नछाड्ने भन्दै त्यस्तालाई कारवाही गरिने बताए ।
उनले सुरूमा सच्चिन मौका दिने त्यसपछि मात्रै कारवाही गर्ने बताए । केही द्विविधा भए राष्ट्र बैकले बाटो देखाइदिने गभर्नर नेपालले बताए । वुटवलका दुई वित्तीय संस्था गाभिएपछि बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंक भएको छ ।
बैंकको केन्द्रिय कार्यालय तिनाउ विकास बैंकको भवन रहेको स्थान बुटवल ४, पाल्पा रोडमा रहेको छ । बराबरी शेयर हैसियतमा संस्था गाभिएका हुन् । गाभिएपछि हकप्रद शेयर जारी गर्नेछन्। मर्जरसँगै राष्ट्रियस्तरको विकास बैंक बन्ने छन् । मर्जरपछि चुक्ता पूँजी एक अर्व १४ करोड रुपैयाँ पुग्ने छ । निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्व ८३ करोड पुग्नेछ ।