डीजीसीए कन्फ्रेन्सबाट नेपालको एक्सपोजर बढ्यो ː क्यान महानिर्देशक राजन पोखरेल |
काठमाडौं । भदौ २ गतेदेखि शुरु भएर भदौ ६ गते सम्पन्न एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरुको भेलाबाट नेपालको एक्सपोजर बढाउन सफल भएको आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिएका छन् ।
नेपालले आयोजना गरेको उक्त सम्मेलनबाट धेरै उपलब्धी हाँसिल भएको उनको भनाइ छ । हवाई सुरक्षा, एयर नेभिगेशन तथा नियमित छलफल बाहेक नेपालका लागि सम्मेलन लाभदायक भएको उनको भनाइ छ ।
महानिर्देशक पोखरेलले भने, ‘हामीले नियमित काम बाहेक पनि अन्य धेरै गर्यौ । हामीले कतिपय देशसँग सम्बन्धको विकास गरेका छौ । हामिले रणनीतिक महत्वको भनेको हिमालय २ हवाई रुटका विषयमा म्यानमारसँग छलफल गरेका छौ । यसमा उहाँहरु सकारात्मक पनि हुनुभएको छ । योसँगै हामीले अन्य कतिपय देशका नियमकहरुसँग महत्वपूर्ण छलफल गरेका छौ ।’
चीन तथा भारतसँग नियमित अपरेशन, नेपाली सेवाप्रदायकलाई प्रवेशजस्ता विषयमा छलफल गरिएको उनले जानकारी दिए ।
यो बीचमा प्राधिकरणले चीनसँग अपरेशन स्लट तथा भारतसँग हिमालय एयरलाइन्सको अनुमतिको विषयलाई उठान गरेको थियो । त्यस्तै भारतसँग हवाई रुटका विषयमा पनि कुरा भएको पोखरेलले जानकारी दिए ।
नेपाल एयरलाइन्सले उडान शुरु गर्न लागेको जापानका नियमकसँग सहजीकरणका लागि कुरा गरेको प्राधिकरणले कोरियासँग नेपाल एयरलाइन्सको उडानकै बारेमा कुरा उठाएको छ ।
चारदिनसम्म चलेको कन्फ्रेन्समा ३६ देशबाट ४११ जना सहभागी भएका थिए । प्रत्ये वर्ष आयोजना हुने उक्त सम्मेलनमा १२ विषयमा छलफल भएको थियो ।