डेंगुबाट काठमाडौं उपत्यकाभित्रै ५९ बिरामी, दुई जनाको मृत्यु |
काठमाडौं । चितवनको भरतपुर नगरपालिका–२ गंगोत्री मार्गका ७१ वर्षीय एक वृद्धको डेंगु संक्रमणबाट शनिबार मृत्यु भयो । ज्वरो आएपछि भरतपुर सामुदायिक अस्पताल उपचारका लागि गएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
चितवनदेखि टाढा डोटीको दिपायलस्थित सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको पनि डेंगु संक्रमणबाटै गत साता मृत्यु भएको थियो ।
गत जेठदेखि नै देशका विभिन्न जिल्लामा डेंगु संक्रमण देखिए पनि नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु हुन थालेको छ ।
एडिज नामको लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगु संक्रमण हुन्छ । चितवन र डोटीमा मात्र होइन, काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा छ । पानी जम्ने खाल्डो, पानी भरेर राखिएका भाँडाहरूमा लामखुट्टे हुर्कने भएकोले डेंगु नियन्त्रणमा समस्या देखिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्खा सकिएपछि लामखुट्टे केही नियन्त्रणमा आउँछ ।
महाशाखाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरलगायत प्रदेश नम्बर ३ मा डेंगुको संक्रमणका बिरामी छन् भने प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पनि डेंगुको समस्या देखिएको छ ।
प्रदेश नम्बर १ र ३ मा गरी नौ सय २८ जना र गण्डकी प्रदेशमा दुई सय ३३ जना डेंगुका बिरामी छन् । सुनसरीमा विगत तीन महिनादेखि देखा परेको डेंगु अझै नियन्त्रणमा लिन सकिएको छैन ।
सुनसरीमा दुई सय ४१ जना बिरामी छन् भने मकवानपुरमा दुई सय ८७ जना छन् । डेंगु लागेका बिरामीलाई खुवाउने औषधि भने छैन । अस्पताल जाने, चिकित्सकहरूको रेखदेखमा भने बस्नु पर्छ ।