नर्बेमा प्रहरी हिरासतबाट निस्केलगत्तै गंगाको म्युजिक भिडियो सार्वजनिक |

नर्बे । नारीप्रधान चलचित्र ‘टेम्पो चालक’ का निर्माता गंगाबहादुर नेम्कुल नर्बेको ओस्लोमा पक्राउ परी चार दिनपछि प्रहरी हिरासतमुक्त भएका छन् । नेम्कुलले आफूलाई गत २३ जुलाईका दिन शुटिङका लागि क्यामेरा लिन जाने क्रममा बिहान ९ बजे ओस्लोको एक बस स्टपमा बस कुरिरहेको अवस्थामा नर्बेजियन प्रहरीले पक्राउ गरेको र चार दिनसम्मको अनुसन्धानपछि छोडेको जानकारी दिएका हुन् ।

कलाकार तथा निर्माता नेम्कुलले भने, ‘नर्बेजियन प्रहरीले बसस्टपमा रोकी ‘काममा जान लागेको हो ?’ भनी सोध्यो। जवाफमा मैले होइन, म निर्देशक हुँ, शुटिङमा जान लागेको हो भन्दा नेपालबाट आएर ओस्लोजस्तो विश्वकै महँगो शहरमा म्युजिक भिडियो बनाउने रे ! यो विश्वास गर्न सकिँदैन भन्दै हिरासतमा लियो ।’

उनका अनुसार चार दिनको अनुसन्धानपछि उनको अष्ट्रेलियाको सिड्नीदेखि नै फिल्म क्षेत्रमा काम गरेको र पोर्चुगलमा ‘नेपुगल फिल्म्स’ नामको आफ्नै व्यावसायिक सांस्कृतिक कम्पनी स्थापना गरी फिल्मी क्षेत्रमा काम गरिरहेको प्रमाण भेटेपछि बल्ल विश्वास गरेर हिरासतमुक्त गरी ओस्लोमा भिडियो छायांकन गर्न इजाजतसमेत दिएको थियो ।

‘किन दुख्छ मेरो मुटु, किन जल्छ छात्ती’ बोलको म्युजिक भिडियोका निर्देशकसमेत रहेका नेम्कुल सोही म्युजिक भिडियोको छायांकनका लागि ओस्लो पुगेका थिए। चिनारी नेपाल अष्ट्रेलियाका संस्थापकसमेत रहिसकेका नेम्कुलले हिरासतमुक्त भएलगत्तै सो म्युजिक भिडियो ‘किन दुख्छ मेरो मुटु, किन जल्छ छाती’ सार्वजनिकसमेत गरेका छन् ।
गायिका टीका गुरुङको यूट्युब च्यानलमार्फत गत शुक्रबार मात्र उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको निर्देशक नेम्कुलले जानकारी गराएका हुन् । गायिका टीका गुरुङको स्वर, अजय तामाङको शब्द÷संगीत, सन्तोष प्रगाढको संगीत संयोजन र मोडेल सारा श्रेष्ठको सशक्त अभिनय रहेको उक्त म्युजिक भिडियो नेपुगल फिल्मस (पोर्चुगल) ले निर्माण गरेको हो ।
नेम्कुलको हालसम्म अष्ट्रेलियन सरकार रकदेल काउन्सिलको आर्थिक सहयोगमा छोटो चलचित्र म्हसिका, वास्तविक कथामा आधारित बहुभाषी चलचित्र टेम्पो चालकको निर्माण गरिसकेका छन् । पोर्चुगलमा छायांकन गरिएको संगीतकार न्ह्यु व्रजाचार्यको संगीत तथा गायक सन्तोष लामाको स्वर रहेको ‘आकाशको जून’ म्युजिक भिडियो हालै मात्र सार्वजनिक भइसकेको छ । नेपुगल फिल्म्सको स्थापनासँगै पुनः सञ्चारमाध्यममा छाएका उनी वर्षौंको अन्तरालपछि यूरोपबाट फेरि कला क्षेत्रमा देखिन थालेका छन् ।