मेलम्चीको बाँकी कामको ठेक्का सिनो हाइड्रोले पायो |
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी लाई दिएको छ ।
मंगलबार मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टी सहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन पत्र पठाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार ऋणदाता एसियाली विकास बैक (एडीबी) ले चिनियाँ कम्पनीलाई दिन स्वीकृति दिएसंगै सम्झौंताका लागि बोलाईएको हो । सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोले पाएको हो ।
आयोजनाको मुल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो । करिव एक साता अध्ययन गरेर १२ अगष्टमा एडीबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो । आयोजनाले १३ अगष्टमा आयोजनाले निकालेको ठेक्कामा निर्माण व्यवसायी छनोट चित्त नबुझेमा सात दिन भित्र दाबीर विरोध अथवा उजुरी गर्न भन्दै सातदिने सार्वजनिक सूचना निकालेको थियो । सोमबारसम्मका लागि दाबी विरोध र उजुरी समय तोकिएको थियो । कुनै उजुरी नपरेपछि आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि वोलाएको हो ।
वोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरिसक्नुपर्ने हुन्छ । आयोजनाले भने जतिसक्दो छिटो प्रकृया सकेर आउन आग्रह गरेको पन्तले जानकारी दिए । चिनियाँ कम्पनी आएपछि उसको बैक ग्यारेण्टी भेरिफिकेशन गरिने उनले बताए । सम्झौता भएको एक महिनाभित्र ठेकदार कम्पनीले काम सुरु गरिसक्नुपर्छ। तामाकोशी हाईड्रोपावरको काम सकेर मेसिनरी र जनशक्ति सहित तयार अवस्थामा रहेकाले छिट्टै काम शुरु हुने विश्वास गरिएको छ । आयोजनाले दशैं अघिनै काम शुरु गराउने तयारी गरेको छ ।
चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रोर रमण जेभीले आयोजनाका काम गर्न इच्छा देखाएका थिए । चिनियाँ कम्पनीले कम कवोल गरेपछि सिनोले ठेक्का पाएको हो । आयोजनाका अनुसार चिनियाँ कम्पनीले इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा कममा ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै थप बढी मुल्य राखेर आर्थिक प्रस्ताव हालेको थियो । सार्वजनिक खरिद नियमावली अनुसार कम कवोल गर्ने चिनियाँ कम्पनीले ठेक्का पाएको हो । हेडवर्क्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ इस्टिमेट गरिएको छ ।