सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ र गैंडालाई ‘राईनो’ नभन्नुहोस् ː प्रधानमन्त्री ओली |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ नभन्न विदेशीसँग आग्रह गरेका छन् । उनले सगरमाथालाई सगरमाथानै उच्चारण गरिदिन समेत आग्रह गरेका छन् । उनले भने, ‘गैडालाई राइनो नभन्नुस, सगरमाथालाई माउन्ट एभरेस्ट नभन्नुस ।’ उनले काठमाडौंमा शुरू भएको अन्तरराष्ट्रिय नागरिक संगठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनको उद्घाटन गर्दै सगरमाथालाई माउन्ट एभरेस्ट नभन्न र गैंडालाई राइनो नभन्न आग्रह गरेका हुन ।
त्यस्तै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने कुरा पुनः दोहोर्याएका छन । उनले यस अघि पनि गैंडालाई राईनो नभई गैंडानै भन्नु पर्ने बताएका थिए । उनले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ उनले पर्यटन विकासका लागि कनेक्टिभिटीको ठूलो महत्व रहेकोले नेपाल सरकार विश्वभर हवाई सेवा विस्तारमा लागेको समेत बताए ।
नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको समेत जानकारी दिएका छन । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले कार्यक्रममा बोल्दै नेपालले हवाई यात्राको सुरक्षामा धेरै सुधार गरेको बताएका छन् । महानिर्देशक पोखरेलले नेपालले हवाई सुरक्षामा अधिकतम ध्यान दिएको र संयन्त्र परिचालन गरिरहेको बताए ।
५ दिनसम्म चल्ने सम्मेलनमा १२ वटा एजेन्डा प्रस्तुत हुनेछन । जस्मा नेपालको तर्फबाट ३ ओटा कार्यपत्र प्रस्तुत गर्ने कार्र्यक्रम रहेको छ ।