भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रमकासाथ सम्पन्न |
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ । साउन ३० गते विहीबार मनाइएको सो दिवसको शुभारम्भ नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरे सँगै भएको हो ।
भारतको ७३ औं स्वतन्त्रता दिवसमा राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए । सो सन्देशमा भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरु बारे उल्लेख गरे । दिवसका अवसरमा राजदूतद्वारा ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरेको छ ।
त्यस्तै राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार गर्नुको साथै राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गरिएको छ । जसले भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ । जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको छ ।