मेरी होम मन्टेश्वरीद्वारा बाल मनोविज्ञान सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना |

काठमाडौं । चन्द्रागिरी–१५ तिनथानामा रहेको मेरी होम मन्टेश्वरी प्रि–स्कुल तथा टिचर्स टेनिङ्ग सेन्टरले बाल मनोविज्ञान सम्बन्धि परामर्श तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले आफ्ना विद्यार्थीहरुका अभिभावकलाई परामर्श प्रदान गरेको हो ।

उक्त अभिभावक परामर्श कार्यक्रममा सहभागी भएका सय भन्दा बढी अभिभावकलाई प्रशिक्षकद्वय महालक्ष्मी आचार्य र गृष्मा पनेरुले प्रशिक्षण दिएका थिए । आचार्यले वाल मनोविज्ञान र उनीहरुलाई कसरी लगनशील बनाउने भन्ने विषयमा अभिभावकहरुलाई प्रशिक्षण दिएकी हुन् । बालबालिकाहरु लाई सानो उमेरदेखि नै अभिभावकले विशेष ख्याल गर्दै उनीहरुको पढाई प्रति चनाखो बनाउनुपर्ने आचार्यले बताइन् ।

कार्यक्रमका प्रमुख अथिति चन्द्रागिरी–१५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले विद्यालयमा बालबालिकाहरुका लागि प्रयाप्त खुल्ला ठाँउ र बालमैत्री भवन हुनु पर्ने उल्लेख गर्दै उनीहरुलाई रमाइलो वातावरणमा पढाउनुपर्ने बताए । उक्त परामर्श कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष सविता बस्नेत दानीले बालबालिकाको मनोविज्ञान बुझेर उनीहरु सँग व्यवहार गर्नु पर्ने बताइन् । बालबालिका लाई लगनशील र ज्ञानी बनाउन अभिभावकको भुमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै अध्यक्ष दानीले साना बालबालिकामा देखा पर्ने सामाजिक, मानसिक र व्यवहारिक समस्यालाई कसरी समाधान गर्ने भन्ने जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएकोे बताइन् । कार्यक्रममा बाल मनोविज्ञानसँग सम्बन्धित खेलहरु खेलाइनुका साथै विद्यालयका संगित शिक्षक प्रकाश रेग्मीले बालगीत गाएर उपस्थित सबैको मनोरन्जन गराएका थिए ।

मेरी होम मन्टेश्वरीले विगत ७ वर्षदेखि मन्टेश्वरी माध्यमद्वारा पठनपाठन गराउदै आएको छ । साथै यसले विभिन्न तहहरुको मन्टेश्वरी ट्रेनिङ पनि प्रदान गर्दछ ।