विषादी परीक्षण झन् कडा गर्छौ ː कृषिमन्त्री खनाल |
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सीमा नाकामा विषादी चेकजाँचलाई निरन्तरता दिने बताएका छन् ।शुक्रबार चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसिएसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कसैले चेकजाँच नगर भन्दैमा विषादी परीक्षण नरोकिने बताएका हुन् ।
‘भारतभन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो, तर हरेक नाकामा अनिवार्य चेक गर्नु भनेकाले मात्र बहसको विषय भएको मात्रै हो चेक जाँच त भएकै थियोे नि’ उनले भने, ‘त्यसलाई निरान्तरता दिएका छौं, दिन्छौं । चेकजाँच नगर भने पनि गर्छौं । झन् धेरै गर्छौं ।’
जनताको स्वास्थ्यको चिन्ता सरकारलाई भएको भन्दै मन्त्री खनालले विषादी चेकजाँचका विषयमा आफू गम्भीर भएको बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने पनि बताए । ‘कृषिमा भने जस्तो उत्पादन हुन सकेको छैन, यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको छु ।’
मन्त्री खनालले कृषि र पशुपन्छीको क्षेत्रमा गर्न धेरै काम रहेको भन्दै यो क्षेत्रमा सम्भावना पनि अधिक रहेको बताए ।