चौधरी समूहले श्रीलंकामा १६ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्दै, खानी प्रयोगको लागि स्वीकृति |
काठमाडौं । नेपालको औद्योगिक घराना चौधरी समूह (सिजी)ले श्रीलंकामा सिमेन्ट उद्योग संचालनमा ल्याउने जानकारी दिएको छ । सिजीले श्रीलंकाको उत्तरी प्रदेशमा अवस्थित मन्नारमा सिमेन्ट उद्योग संचालनको लागी आवश्यक चुनढुङ्गा खानी प्रयोग गर्न श्रीलंकाली सरकारबाट स्वीकृति पाएको छ । उद्योग संचालनको लागीआवश्यक पर्याप्त चुनढुङ्गा खानी उत्तरी प्रदेशमा पहिचान भइसकेको सिजीले जानकारी दिएको छ ।
श्रीलंकाबाट प्रकाशित पत्रिका डेलि न्यूजलाई दिएको अन्तर्वार्ता सिजी अध्यक्ष विनोद चौधरीले सिमेन्ट उद्योगमा १५ करोड अमेरिकी डलर(१६ अर्ब ५० करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेका छन् ।
उनले वार्षिक ३५ करोड अमेरिकी डलर (३८ अर्ब ५० करोड रुपैयाँ) बराबरको सिमेन्ट,क्लिंकर आयात गरिरहेको श्रीलंकामा स्थानीय उत्पादनबाट व्यापार घाटा न्यून गर्न योगदान पुर्याउने लक्ष्य रहेको बताए ।
श्रीलंकामा पर्यटन व्यवसायमा मात्र लगानी गरेको सिजीले लगानी विविधिकरण गर्दै त्पादनमूलक क्षेत्रमा समेत लगानी गर्ने तयारी गरेको हो । श्रीलंकामा सिजीले संयुक्त लगानीमा १६ वटा होटल,रिसोर्ट,हाउजिङ संचालनदाबी गरेको छ ।
सिजीले दक्षिण एशियाली अर्को मुलुक भारतको मेघालयमा सन् २००९ मै भारु १ करोड अधिकृत पूँजीसहित सिजी सिमेन्ट कम्पनी दर्ता गरेर संचालन गरेको छ । एक दशक अघि पश्चिम नेपालको नवलपरासीमा सिमेन्ट उद्योग स्थापना गरेको सिजीले अहिले पाल्पामा समेत क्लिंकर प्रशोधन सहितको सिमेन्ट उद्योगसंचालनमा ल्याएको छ ।
सिजीले यी उद्योगमा नौ अर्ब रुपैयाँभन्दा बढी लगानीगरेको छ । नवलपरासीको दुम्कीवासमा सिमेन्ट उत्पादन उद्योग संचालनमा ल्याएको सिजीले पाल्पामा रहेको चुनढुङ्गा खानीबाट क्लिंकर उत्पादनको लागी गतवर्षदेखि प्लान्ट स्थापनाको काम शुरु गरेको हो ।
सिजी समूहले संयूक्त लगानीको माध्यमबाट सिमेन्ट उद्योग र सिमेन्ट उत्पादनको लागी आवश्यक पर्ने मेशिनरी, प्रविधिको लागि सिनोभेसन इंक अन्तर्गत दुईवटा बेग्लाबेग्लै कम्पनीमा लगानी गरेको छ । सिजी सिमेन्ट ग्लोबल प्रालिले सिमेन्ट उद्योगमा लगानीको गर्न कम्पनी ग्लोबल सिमेन्ट क्यापिटल पार्टनर कम्पनी स्थापना गरेको छ ।
सिमेन्ट उद्योगको लागी आवश्यक प्रविधि र मेशिनरी उत्पादनको लागी थाइल्याण्डको एलभि टेक्नोलोजी पब्लिक कम्पनी लिमिटेडमा लगानी गरेको सिनोभेसन गु्रपको वेवसाइटमा उल्लेख छ । ग्लोबल सिमेन्ट क्यापिटल पार्टनर्समार्फत् सिजीले नेपालबाहेक श्रीलंका, म्यानमार,क्याम्बोडिया र मोजाम्बिकमा समेत सिमेन्ट उद्योगमा लगानी गरेको छ ।