शिखर इन्योरेन्सले ३० प्रतिशत हकप्रद निष्कासन गर्दै, बोलायो साधारणसभा |
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले थप पुँजी बढाउन ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २८ गते डाकेको चौधौ वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव लैजाने भएको हो ।
कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ कायम हुनेछ ।
कम्पनीले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार संचालकको संचरना परिवर्तन गर्ने भएको छ । कम्पनीले ७ जना संचालन रहने गरि प्रबन्धपत्र तथा नियमावली परिवर्तन गर्ने भएको हो ।
सुशासन निर्देशिका अनुसार कम्पनीले संस्थापक शेयरधनीहरुबाट चार जना, सर्वसाधारण शेयरधनीहरुबाट दुई जना र एक जना स्वतन्त्र संचालक रहने व्यवस्था गर्न लागेको हो । जसमध्ये कम्तिमा एक जना सञ्चालक महिला हुने व्यवस्था गरेको छ ।
हाल कम्पनीमा ६ जना संचालक छन्। जसमा संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना संचालक, एकजना स्वतन्त्र संचालक र दुई जना सर्वसाधारण शेयरधनीहरुको तर्फतबाट संचालक रहेका छन्। संसोधन हुन लागेको नियमावली अनुसार कम्पनीले चार जना संस्थापक शेयरधनीहरुको निर्वाचन गर्ने भएको छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन १५ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने भएको छ । संचालक समितिले साधारणसभामा अन्य कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीलाई गाभ्ने या अन्य कुनै कम्पनीसँग गाभिने अवस्थामा भैपरी आउने सम्पुर्ण निर्णय संचालक समितिलाई दिने विशेष प्रस्ताव लैजाने भएको छ ।