राष्ट्रिय गौरवका आयोजनामा ८९ प्रतिशत मात्रै खर्च |
काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५∕७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो ।
देशको अर्थतन्त्रलाई नै माथि उठाउने भनेर सरकारले महत्व दिएका आयोजनाहरुको प्रगति गत आवमा सन्तोषजनक छैन । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल होस या दू्तमार्ग, मेलम्ची खानेपानी आयोजना होस या बुढिगण्डकी कुनैले पनि यथेष्ट गति लिन सकेनन् । सरकारी निकायको आयोजना कार्यान्वयनको असक्षमता यी आयोजनामा फेरि झल्किएको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा बढी अनुपातमा दक्षिण एसिया पर्यटन पूर्वाधारमा २१५ प्रतिशत र सबैभन्दा कम निजगढ विमानस्थलमा २१ प्रतिशत बजेट खर्च भएको छ । निर्माणको अन्तिम अवस्थामा पुगेको मेलम्ची खानेपानी आयोजना अघिल्लो आवमै सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीसँगको ठेक्का सम्झौता सरकारले तोडेपछि यो आयोजना अलपत्र पर्यो ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार गत आवमा मेलम्ची खानेपानी आयोजनाको खर्च प्रगति मात्र ३३ प्रतिशत रहेको छ । ९६ प्रतिशत भौतिक प्रगति भएर पनि रोकिएको यो आयोजनाको अन्यौल अहिले पनि जारी छ । वन क्षेत्रभित्र निर्माणको योजना बनाइएको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा आवश्यक रुख कटान आदेश आएको छैन । रुख कटान आदेश माग्दै पर्यटनले वन मन्त्रालयमा पठाएको फाइल उतै छ । वनले मन्त्रिपरिषद्मा लगेपछि मात्र यो आयोजनाको काम बढ्छ ।
अर्कोतर्फ यो आयोजना कुन ढाँचामा बनाउने, लगानीको स्रोत के हुने जस्ता आधारभूत कागजी प्रक्रिया समेत सकिएका छैनन् । त्यसकारण यो आयोजनामा अघिल्लो वर्ष सरकारले छुट्याएको रकममध्ये २१ प्रतिशत मात्र खर्च भएको छ । यो रकम पनि मुआब्जा वितरणमा खर्च भएको हो ।
१२ सय मेगावाट जडित क्षमताको यो जलविद्युत आयोजनाको निर्माण नै अन्यौलमा छ । २०४० सालबाट अध्ययन शुरु भएको यो आयोजनाको निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई सुम्पिएको सरकारले मुआब्जा वितरणमा मात्र ठूलो रकम खर्च गरिरहेको छ ।
झण्डै १ अर्ब रुपैयाँ खर्च गरी विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनजस्ता कागजी प्रक्रियासमेत सकिएको छ । तथ्यांक अनुसार अघिल्लो आवमा बुढिगण्डकीमा ५४.४० प्रतिशत मात्र खर्च भएको छ ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएको तराई–मधेश द्रुतमार्गले समेत यस आवमा उल्लेख्य प्रगति हाासिल गर्न सकेन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को अन्यौल यस आयोजनामा पनि रहिरहेको छ । डीपीआर अझै स्वीकृत नभए पनि द्रुतमार्गको ट्रयाक खोल्ने काम भने भएको छ । अघिल्लो आवमा यस आयोजनाले ३७ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ ।
सडक आयोजनामा भने खर्च उल्लेख्य
आव २०७५∕७६ मा राष्ट्रिय गौरवका सडक आयोजनाको वित्तीय प्रगति भने उत्साहजनक देखिएको छ । हुलाकी राजमार्ग, मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना, उत्तरदक्षिण लोकमार्ग कालीगण्डकीले विनियोजित बजेटभन्दा पनि बढी रकम खर्च गरेका छन् । सरकारले रकमान्तरका माध्यमबाट यी आयोजनालाई अतिरिक्त बजेट दिएको थियो । मध्यपहाडी लोकमार्गमा तोकिएको बजेटको तुलनामा दोब्बरभन्दा बढी बजेट खर्च भएको महालेखाको तथ्यांक छ ।
राष्ट्रिय गौरवका आयोजनाको ठूलो हिस्सा यी सडक आयोजनासहित गौतमबुद्ध विमानस्थलले बोकेका छन् । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले पनि विनियोजित बजेटभन्दा दोब्बर रकम खर्च गरेको छ । यो आयोजनाको पनि मुआब्जामा धेरै रकम खर्च भएको छ ।