यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर उडान गर्ने, भाडादरसहित |
काठमाडौं । यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै अन्य सहरहरूमा पनि नियमित उडान गर्ने भएको छ । पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ ।
एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि, भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए । त्यसैगरी, पोखराबाट नेपालगञ्जका लागि चार्टर्ड फ्लाइट सेवा पनि शुरू गर्ने उनले बताए ।
२० मिनेटमा उडानमार्फत् पोखरा र भैरहवालाई जोडिनेछ । यस्तै पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट गर्ने उनले बताए । माउन्टेन फ्लाइटमार्फत् पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरीजस्ता हिमश्रृंखलाको दृश्यावलोकन गर्न सक्नेछन्। पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सयदेखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।
यस्तै, पोखरा–भरतपुरका लागि २ हजार ५ सयदेखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका वरिष्ठ प्रबन्ध निर्देशक भीमराज राईले जानकारी दिए । उनले ३० सिटर जेट स्ट्रिमबाट सेवा दिने बताए ।
माउण्टेन फ्लाइट बिहान ७ बजे, पोखराबाट भैरहवा बिहान साढे ९ बजे र भरतपुर बिहान १० बजेर ५० मिनेटमा उडान गरिने उनले जनाए ।
पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि सहज होस् भन्दै बुद्ध एयरले १ बजेदेखी उडान गर्दै आएकोमा यतीले समेत सेवा थप गरेपछि पर्यटकको लागि सहज हुने व्यवसायीको भनाई छ ।
सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटीआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाई सेवा दिँदै आएको छ ।
यतीको भगिनी संस्था तारा एयरले ४ वटा ट्वीन अटर र २ वटा डोर्नियर डीओ २२८ मार्फत् जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान गर्दै आएको छ ।