जनसेवीको नाफा १ करोड माथि |
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा १ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ३८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलानमा नाफा २७९ प्रतिशत बढी हो । लघुवित्तको शेयर कालिका लघुवित्तसँगको मर्जरपछि मात्र नेप्से सूचीकृत हुने भएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ८५ प्रतिशत बढेर ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा अघिल्लो आवको तुलनामा ३२.७९ प्रतिशत वृद्धि भई २ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ४ लाख ६३ हजार ३०० कित्ता शेयर आईपीओ बाँडफाँट गरेपछि चुक्तापूँजी १४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको पूँजी ९ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको जगेडा कोषमा १ करोड ८९ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले ६६ करोड १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ८७ प्रतिशत रहेको छ ।