प्यान र भीसीटीएस प्रणाली तीन महिना पछि मात्र पूर्ण रुपमा लागू हुन्छ ː अर्थमन्त्री |

काठमाडौं । सरकारले साउन १ गते देखि लागू गरेको प्यान, बैंक खाता मार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) तत्काल पूर्ण रुपमा लागू नहुने भएको छ ।
अर्थमन्त्री खतिवडाले नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग मंगलबार भएको छलफलमा अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेकोले तीन महिना पछि मात्र पूर्ण रुपमा लागू हुने बताए ।
अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था र भिसिटिएस प्रणाली तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताए ।
तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उनले, प्यान, भिसिटिएस लगायतका अहिलेका नियमहरु केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ, कार्यदल मार्फत सम्बोधन गरिने जानकारी गराए ।
छलफलमा महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।
आर्थिक वर्ष २०७६∕७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।