जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया शुरु |
काठमाडौं । जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपिओ) निष्काशनको प्रकृया थालेको छ । इन्स्योरेन्सले आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने साउन २९ गते बुधबार एलिस रिसेप्सन, गैरीधारामा साँझ ५ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभामा इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
हाल इन्स्योरेन्सको ७० करोड रुपैयाँ चुक्ता पूँजी छ । आईपिओ निष्काशन पछि इन्स्यारेन्सको चुक्ता पूँजी बीमा समितिले तोकिए बमोजिम एक अर्ब कायम हुनेछ । इन्स्योरेन्सको आईपिओ साधारण सभाबाट पारित भएर नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सर्वसाधारणको लागि बिक्री खुल्ला हुनेछ ।
यस्तै साधारण सभाले संस्थापक शेयरधनीहरुबाट संचालकहरुको निर्वचन गर्ने तयारी समेत गरेको छ। साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।
एनएफआरएस बमोजिम आर्थिक वर्ष २०७४∕०७५ को वित्तीय विवरण तथा लेखा परिक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।