सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सार्वजनिक निष्कासन साउन २३ देखि |
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईले साउन २३ गतेदेखि सर्वसाधारणको लागि सार्वजनिक इकाई निष्कासन गर्ने भएको छ ।
सिद्धार्थ म्युचुअल फण्डले सञ्चालन गरेको यो स्किमले प्रति इकाई १० रुपैयाँको दरमा १४ करोड इकाईमध्ये १५ प्रतिशत योजना व्यवस्थापकको लागि छुट्याएर बाँकी इकाई सर्वसाधारणको लागि छुट्याएको छ ।
सर्वसाधारणले न्युनतम १०० इकाईदेखि अधिकतम एक करोड ४० लाख इकाईसम्मको लागि आवदेन दिन सक्ने छन् । फण्डले सार्वजनिक निष्कासन छिटोमा साउन २७ गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा भदौ २० गतेसम्म निष्काशन गर्ने छन् ।
योजना व्यवस्थापन सिद्धार्थ क्यापिटलको यो चौथो बन्दमुखी योजना हो। एउटा योजना सफल भैसकेको छ भने दुई वटा योजना सञ्चालन भैरहेका छन्। यो योजना इकाई बाँडफाट भएको १० वर्षसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष भन्दा लामो समयदेखि शेयर बजार लगातार घट्दा म्युचुअल फण्डले राम्रो नाफा गर्न सकेका छैनन्। कतिपय फण्डहरु घाटामा छन् ।
पहिलो योजनाले औसतमा वार्षिक ४८.४६ प्रतिफल दिएको थियो। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईले पनि वार्षिक औसत लाभांश २५ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण गरेको छ । घट्दो बजारमा पनि नाफा बुक गरेर लाभांश बाड्न सक्ने गरी काम गरेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले बताए ।
क्यापिटलले सञ्चालन तेस्रो योजना सञ्चालन हुँदा दोस्रो बजार १६ सय विन्दुमा थियो । त्यस यता शेयर बजार लगातार ओरालो लाग्ने क्रममा छन् ।
यहि अवधिमा सञ्चालन भएको फण्डहरु घाटामा हुँदा न्याप भ्यालु ११.३१ रुपैयाँ छ । अवको दश वर्षको बजारमा शेयर बजारमा दुई वटा चक्र पुरा हुने र कम्पनीले राम्रो लाभांश दिन सक्ने गरी योजना व्यवस्थापन गर्ने तिमिल्सिनाले बताए ।