हिमालय एअरलाइन्सले बंगलादेशको ढाकामा उडान शुरु गर्यो |
काठमाडौं । नेपालको अन्तरराष्ट्रिय विमान वाहक हिमालय एअरलाइन्सले ढाकामा पहिलो उडान भरेको छ । प्रिमियम क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ ।
एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका तयार पारिएको कम्पनीले जनाएको छ । यो नयाँ रुटले नेपालको एसियाली मुलुकसँग सम्पर्क अझ बढाउने विज्ञप्तिमा उल्लेख छ ।
ढाकाको पहिलो उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बंगलादेशी राजदुत मासफी बिन्ते साम्स्, पर्यटन वोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले सहभागिता छ ।
कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान एच९ ६७८ काठमाडौंको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय १ बजे अवतरण गरेको थियो । त्यही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान फर्किएको थियो । एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बंगलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्ति गरेको छ ।