दुई महिनाभित्रै ‘मिनी पानीजहाज’ चल्ने, नारायणी नदी किनारामा यसरी हँदैछ काम |
चितवन । निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने निर्माणकर्ता कम्पनी राइनो वाटर ईन्टरटेन्मेन्ट प्रालिले जानकारी दिएको छ । कम्पनीले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ ।
राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण गरिरहेका छन् । भारतीय र नेपाली गरी ५० जना खटिएका छन् ।
‘क्रुजशिप’ राख्नको लागि पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण भइसकेको छ । भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले यसको प्राविधिक पक्षको काम गरिरहेको छ । कम्पनीका निर्देशक ओजस सेवास्टिएनले नेपालमा पहिलो पटक निर्माण गरिएको क्रुजशिपले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘मिनी पानीजहाज’ सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी हुने छन् । तर दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ । पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिनेछ भने त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिने निर्माण पक्षले जनाएको छ ।
मिनी पानीजहाज’मा १५ जना क्यू मेम्बर हुनेछन् भने एकै पटक दुईसय जनाले यात्रा गर्न सक्ने छन् । पानी जहाजको दुबै तलमा सयसय जना अटाउनेछन् । मिनी पानीजहाज एक सय फिट लम्वाई र २५ फिट चौडाईको हुनेछ, जसको माथिल्लो तलालाई दृश्यावलोकन गर्न सकिने गरी बनाइने बताइएको छ ।
‘मिनी पानीजहाज’लाई दिनमा तीन सिफ्ट चलाउने योजना छ । भरतपुर महानगरपालिका वडा नः १६ काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्मको क्रुजिङ करीव तीन घण्टाको हुनेछ । कम्पनीका प्रवन्ध निर्देशक कँडेलले भने, ‘नेपालको जल पर्यटनमा यो एउटा कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास छ ।’
सिंगापुर र भारतबाट आएका प्राविधिकहरुले पुसदेखि पानीको गहिराईबारे अध्ययन गरेका थिए । ‘नारायणी नदीमा पुषको बेलामा सबैभन्दा कम पानीको सतह पुग्ने रहेछ, केही सिमित स्थानमा नदीको वहाव सुधार गरे सजिलैसँग नारायणीमा मिनी पानीजहाज चलाउन सकिने रहेछ’ प्रवन्ध निर्देशक कँडेलले भने ।
पानीजहाज सञ्चालन गर्ने स्थानमा नदी नियन्त्रण गर्न प्रदेश ३ सरकारले ९५ लाख रकम दिएर निर्माण गरेको छ ।