एनआईसी एशिया बैंक लाई एक वर्षमा तीनवटा ऋणपत्र निष्कासनको अनुमति, १० अर्ब २३ करोडको ऋणपत्र |
काठमाडौं । एनआईसी एशियाले चालु आर्थिक वर्षमा तीन वटा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० अर्ब २३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो ।
बैंकले दुई वटा ऋणपत्र निष्कासन गरिसकेको छ । शुक्रबार १०.२५ प्रतिशत व्याजदरको चार अर्ब ४० करोड रुपैयाँको ’१०.२५ प्रतिशत एनआईसी एशिया बैंक डिवेन्चर २०८३∕८४’ निष्कासन गर्ने अनुमति पाएको हो ।
बोर्डबाट अनुमति पाए सँगै बैंकले ४० प्रतिशत ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । बैंकले गत भदौमा एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो । यस सँगै पुसमा १० प्रतिशत व्याजदरमा चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो ।
चालु आर्थिक वर्षमा मात्रै बोर्डले १२ वटा ऋणपत्र निष्कासन गर्ने अनुमति प्रदान गरेको छ । नौ बाणिज्य बैंकले १२ वटा ऋणपत्र मार्फत २९ अर्ब ९८ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका हुन् ।
बोर्डमा तीन वटा बाणिज्य बैंकले ५ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासनका लागि निवेदन दिएका छन् । बाणिज्य बैंकहरुले पछिल्लो समय पूँजी कोष व्यवस्थापनका लागि ऋणपत्र निष्कासन गर्दै आएका छन् । पूँजी बढाउदा दिर्घकालिन प्रभाव पर्ने भन्दै बैंकहरुले ऋणपत्रलाई प्राथमिकता दिएका हुन् । बैंकहरुले ऋणपत्रलाई प्राथमिकता दिए पनि बैंकिङ तरलताको अभावले बिक्न गाह्रो पर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा बैंकर एसोसिएसनको सहमतिमा सर्वसाधारणको लागि ९.२५ प्रतिशत र संस्थागत निक्षेपको लागि ९.५ प्रतिशतसम्म मात्रै व्याज दिन पाइने भद्र सहमति भएको छ ।
निक्षेप तानातान गर्ने क्रममा बैंकहरुले व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्न थाले पछि राष्ट्र बैंकले नियन्त्रण गरेको हो ।