३ सय बिजुली बस किन्न साझा लाई ३ अर्ब, भोली औपचारिक कार्यक्रम गरी घोषणा गरिने |
काठमाडौं । सरकारले ३ सय बिजुली बस ल्याउनका लागि साझा यातायात लाई ३ अर्ब रुपैयाँ दिएको छ । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई सो रकम प्रदान गरेको हो ।
यसअघि प्राधिकरण गठन गरी सोमार्फत ३ सय बिजुली बस खरिद गर्ने भनिए पनि साझाले नै बस खरिद गर्ने जिम्मा पाएको हो । मन्त्रिपरिषद बैठकले नै साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिदिएको छ । चार्जिङ क्षमता, सिट संख्यालगायतका स्पेसिफिकेसन मन्त्रालयले नै तोकेको छ । मन्त्रालयले भोलि बिहीबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिने भएको छ ।
साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भएको जानकारी दिए । सोवापत सरकारले साझाको सेयर प्राप्त गर्नेछ ।
यसअघि बिजुली बस खरिदकै लागि साझाले प्रदेश ३ सरकार, काठमाडौं महानगर र ललितपुर महानगरबाट साढे ४२ करोड रुपैयाँ प्राप्त गरेको छ । प्रदेश ३ ले ३० करोड, काठमाडौं महानगरले १० करोड तथा ललितपुर महानगरले साढे २ करोड रुपैयाँ प्रदान गरेका हुन् ।
सरकारले आगामी ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ । निजी क्षेत्रलाई समेत विद्युतीय सवारी संचालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उद्देश्यले सरकारले भन्सार शुल्कमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।
अर्कोतर्फ पेट्रोल र डिजलबाट चल्ने सवारी साधनका लागि बैंकबाट दिइने गरेको ट्रस्ट रिसिप्ट ऋणलाई समेत ६ महिना बन्द गर्ने सरकारको कार्ययोजना छ । सो कार्यायोजनाले बिजुलीका सवारी साधन आयात र संचालनलाई प्रोत्साहन मिल्ने सरकारको दावी छ ।