शुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने |
काठमाडौं । मालसामान ढुवानी तथा विक्रीमा ट्रयाकिङ सिस्टम लागु भएको छ । सो प्रणालीको आज अर्थमन्त्री डा. युवराज खतिवडाले आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री कार्यालयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् ।
मालसामान बिक्री तथा ढुवानीमा हुने राजस्व चुहावट नियन्त्रण्का लागि उक्त प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले चालू आबको बजेटमार्फत नै चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई नियन्त्रण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको श्रृखलाई ट्रयाकिङ प्रणालीमा जोडिने बताएका थिए ।
सरकारले पारवहन तथा विक्रीसम्मको ट्रयाकिङ प्रणालीलाई कार्यान्यनमा ल्याउने बताएसँगै व्यवसायीहरुले त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउने नहुने बताउँदै आएको थिए । आज भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकार उक्त कदमबाट पछि नहट्ने तर व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै समयसापेक्ष परिमार्जन गरिने बताएका छन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री खतीवडाले सुचना प्रविधिको प्रयोगलाई जोड दिँदै अनधिकृत व्यापार, व्यापार पारदर्शिता लगायतका क्षेत्रमा सुधार ल्याउने गरी उक्त सिस्टम लागु गरिएको जानकारी दिएका हुन । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भेहिकल ट्रयाकिङ सिस्टमलाई कार्यान्वयनमा ल्याउन नहुने बताए ।
व्यवसायीले छोटो दूरीमा रिक्सा, ठेलागाढाजस्ता माध्यमबाट ढुवानी गर्ने भएकाले त्यसमा ट्रयाकिङ गर्न नसकिने अग्रवालले बताए । साथै लामो दूरीको ट्रयाकिङ गर्न पनि सोही अनुरुपको प्रविधि चाहिने भएकाले तत्काल सम्भव नहुने उनको तर्क थियो ।