सर्वोच्चको आदेशपछि सीमा नाकामा विषादी परीक्षण शुरु |
काठमाडौं । सर्वोच्च अदालतले सीमा नाकामा विषादी परीक्षणसम्बन्धी मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि भारतबाट आयात हुने तरकारी र फलफुलमा विषादी परीक्षण शुरु गरिएको छ ।
कृषि मन्त्रालयका अनुसार कालिमाटी, बिराटनगर, बिर्तामोड, बुटवल तथा नेपालगञ्ज नाकाबाट भित्रिएका तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएको छ ।
विषादी परीक्षण केन्द्र कालीमाटीका अनुसार कालिमाटी तरकारी तथा पलफूल बजार र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पठाएको नमूना केन्द्रले परीक्षण गरिरहेको छ । केन्द्रमा बिहीबारदेखि भन्सारले नमूना पठाउन थालेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आएको दुई नमूना एभोकाडो र लहरे आँपको विषादी परिक्षण गरिएको छ । ती दुबै फलफुल खान योग्य थिए ।
बिराटनगर परीक्षण केन्द्रमा भन्सारबाट विषादी परीक्षणको नमूना भने पठाइएको छैन । स्थानीय उत्पादन र थोक बजारका तरकारीको विषादी मात्रा परीक्षण गरिएको छ ।