बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द |

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।
सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।
यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
उता, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।