नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ११ चलचित्र पुरस्कृत |

नेपाल अमेरिका फिल्म सोसाइटीले वासिङ्टन डीसी महानगर क्षेत्र अन्तर्गत म्यारिल्याण्ड राज्यमा यही जुन २८ ,२९ र ३० सम्म आयोजना गरेको तेस्रो नेपाल अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ ।
बिनोद पौडेलद्वारा निर्दे्शित ’बुलबुल’ चलचित्रको प्रदर्शनबाट शुरू भएको महोत्सव प्रविन स्याङ्ग्बोद्वारा निर्दे्शित चलचित्र ’कथा’७२’ बाट समापन भएको थियो । चलचित्र महोत्सवमा नेपाल लगायत विभिन्न देशका ३४ वटा चलचित्र प्रदर्शन भएका थिए । उद्घाटन र समापन एएफआई शिल्भरमा सम्पन्न भएको थियो ।
चलचित्र महोत्सव अवधिमा प्रदर्शन भएका विभिन्न विधाका चलचित्रहरूलाई भर्खरै फ्रान्समा आयोजना भएको फिल्म फेस्टिवलमा अर्को फिल्म बनाउन ६० हजार पुरस्कार जितेका मिन बहादुर भामको अध्यक्षतामा रहेको ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामानतÞे र एमी अवार्ड विजेता तथा लेखकरनिर्मात्री मिमि मचाडो लुसेससहितको ३ सदस्यीय निर्णायक मण्डलले ११ वटा विधामा पुरस्कारको घोषणा गरेका थिए ।
प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट कथानकतर्फ बंगलादेशका तउक्वीर अहमदले निर्देशन गरेको ’फागुन हवे’ले बेस्ट फिल्म फिचर अवार्ड, युकी काङले निर्देशन गरेको फिल्म ’अ लिटल विस्डम’ बेस्ट डकुमेन्ट्री र इरानका मोहम्मद बक्सीले निर्देशन गरेको ’आर यु भलिबल“बेस्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भए ।
उद्घाटन समारोहमा प्रदर्शन गरिएको चलचित्र ’बुलबुल ’ र समापन समारोहमा देखिएको चलचित्र ’कथा’७२’ भने प्रतिस्पर्धामा थिएनन्। महोत्सवमा ग्लोबल पीस फिल्म फेस्टिवल फ्लोरिडाको साइडबारका रूपमा २ वटा चलचित्रहरू प्रदर्शनमा थिए ।
अमेरिकाको लागि नेपाली राजदूत अर्जुन कार्कीले डम्फु बजाएर उद्घाटन भएको महोत्सवमा मेरिल्यान्ड फिल्म अफिसका निर्देशक ज्याक गेर्वेस, महावाणिज्यदूत प्रेमराजा महत, म्यारिल्याण्ड राज्यको मन्टगमरी काउन्टिका काउन्सिल सदस्य टम हकर लगायत नेपाली सामुदायिक नेतृत्वहरू उपस्थित थिए ।