भ्रमण वर्ष २०२०को लोगो सार्वजनिक, लोगोमा नेपालको जीवनशैली र तस्विर झल्किने |
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाली पहिचान झल्कने लोगो सार्वजनिक गरिएको छ ।नेपाली दैनिक जीवन शैली र संस्कृति झल्किने तस्विर र चित्रमा आधारित तयार गरिएको लोगो सार्वजनिक गरिएको हो । भ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज वैद्यले नेपालको संस्कृति, परम्परा र दैनिक जीवन शैली प्रतिविम्बित गर्ने रातो र पहेँलो रंग भएको कारण ब्राण्डिङका लागि यी दुईवटा रंगमार्फत डिजाइन गरिएको बताए ।
‘ब्राण्डिङ इन्जिनियरिङ हो । यसमा पहेँलो र रातो रंगलाई मूख्य प्राथमिकता दिइएको छ । पहेँलो रंगले ज्ञान र अध्ययनलाई संकेत गर्छ जुन विभिन्न मन्दिर र गुम्बामा देख्न सकिन्छ भने रातो रंगले प्रेमलाई संकेत गर्छ जुन नेपालीहरुको शुभ समारोह र मुख्य चाडमा प्रयोग हुँदै आएको छ ।’ उनले भने । भ्रमण वर्षमा पर्यटकलाई थप आकर्षित गर्नका लागि ब्राण्डिङमार्फत मुलुकको दैनिक जीवनशैली, संस्कृति र परम्परा झल्काउने मुख्य उद्धेश्य रहेको उनले बताए ।
‘भ्रमण वर्षलाई लाइफ टाइम एक्सपेरियन्स बनाउनु मूख्य उद्धेश्य हो । यो सन् २०२० को लागिमात्र नभइ आगामी वर्षहरुको लागि पनि हो । यसमा प्रत्येक नेपालीहरुको साथ र सहयोग उत्तिकै महत्वपुर्ण रहेको छ।’ वैद्यले भने । भ्रमण वर्ष २०२०को ब्राण्डिङको जिम्मा भने इमेज आर कम्पनीले तयार गरेको हो ।
भ्रमण वर्षको लागि तयार पारिएको ब्राण्डिङमा रंगको सहायतले नेपालको पूर्ण परिचय झल्कने कम्पनीकी संस्थापक मार्यान्स होमग्रन सिल्भाले बताईन् ।‘ भ्रमण वर्ष आत्मियता, संस्कृति र साहस लगायतमा केन्द्रित रहेको छ । यी सँगै ब्राण्डिङका लागि नेपालको जीवन शैली र पर्यटक लक्षित चित्र मुलुकका बस विसौनी, सार्वजनिक यातायात, पर्यटक यातायात, ध्वजावाहक, दैनिक प्रयोग गरिने रिसाइकल ब्याग, नक्शा किताब, पहिरन लगायतमा प्रयोग गरिनेछ। जसले गर्दा नेपाको पहिचान सजिलै झल्कनेछ ।’ सिल्भाले भनिन् ।
भ्रमण वर्ष २०२०का लागि उड्डयन सुरक्षा र पर्यटक सुरक्षालाई मुख्य प्राथमिकता दिइने पर्यटन सचिव मोहन कृष्ण सापकोटाले बताए ।