आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन |
काठमाडौं । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समिति बैठकले नेपालमा आयोजना हुने आइफा अवार्ड रोक्न निर्देशन दिएको समितिले जानकारी दिएको छ ।
गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए ।
अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो । अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो ।
समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि थिए ।
यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो ।
अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो ।