सामसुङ ग्यालेक्सी एम ४० नेपाली बजारमा सार्वजनिक |
काठमाडौं । सामसुङले एम सिरिजमा नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । स्क्रिन साउन्ड टेक्नोलोजीका साथ कम्पनीले ग्यालेक्सी एम ४० स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोन केही महिनायता निकै चर्चामा रहेको थियो । ग्यालेक्सी एम ४० स्मार्टफोनमा इन्फिनिटी ओ डिस्प्ले र ट्रिपल रियर क्यामरा सेटअप राखिएका छन् । यो ग्यालेक्सी लाइनअपको सबैभन्दा नयाँ स्मार्टफोन हो, जसमा स्क्रिन साउन्ड टेक्नोलोजी राखिएको छ ।
यसमा ६.३ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले राखिएको छ । फोनमा छ जीबी र्यामका साथमा १ सय २८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । फोन क्वालकम स्न्यापड्रागन ६७५ प्रोसेसर तथा एड्रेनो ६१२ जीपीयूका साथमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस स्मार्टफोनमा रियर ट्रिपल क्यामरा सेटअप रहेको छ, जसमा ३२ मेगापिक्सेल प्लस, पाँच मेगापिक्सेल प्लस आठ मेगापिक्सेलको सेन्सर छ । फोनमा फोरके रेकर्डिङ, स्लोमो र हाएपरल्याप्सले सपोर्ट गर्छ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
कनेक्टिभिटीका लागि फोनमा फोरजी भोल्टे, वाइफाई, ब्लुटुथ, यूएसबी टाइप सी पोर्ट छ । यो फोनको पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ । सामसुङको नयाँ फोनमा पावरका लागि ३५ सय एमएएचको ब्याट्री प्याकका साथमा १५ वाटको फास्ट चार्जिङको सपोर्ट छ । ग्यालेक्सी एम ४० को बजार मूल्य नेपाली बजारमा ३६ हजार १ सय ९० रुपैयाँ तोकिएको छ । यो फोन मिडनाइट ब्लु तथा सिवाटर ब्लु ग्रेडिएन्ट कलरमा उपलब्ध हुने छ ।