कोटेश्वर–कलंकी सडकमा ३ हजार वृक्षारोपण, प्रधानमन्त्रीले रोपे नासपातीको बिरुवा |

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर–कलंकी सडकमा बिरुवा रोपिएको छ । उक्त क्षेत्रमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे ।
सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान शुरु गरिएको हो ।
कोटेश्वर क्षेत्रको कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर, कानुन मन्त्री भानुभक्त ढकाल, शताब्दी पुरुष सत्यमोहन जोशीलगायत सहभागी भए ।
वृक्षारोपण कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, सांसद, बिभिन्न सामाजिक संस्था, राजनीति दलका कार्यकर्तालगायतको पनि उल्लेख्य उपस्थिति थियो ।
कोटेश्वर–कलंकी क्षेत्रलाई ९ खण्डमा बिभाजन गरी जनसहभागीताको व्यवस्था मिलाइएको थियो ।