हाम्रा नागरिकमाथि नेपाल सरकारको व्यवहारले मर्माहत भएका छौं ː अमेरिकी दूतावास |
काठमाडौं । अमेरिकी राजदूतावासले नेपाल सरकारले आफ्ना नागरिकमाथि गरेको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएको छ । शनिबार नेपाल आएका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो ।
नेपालस्थित चिनियाँ दूतावासले गरेको आग्रहअनुसार अध्यागमन कार्यालयले पेम्पालाई पक्रेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले भारतमा निर्वा्सित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश रोक्न आग्रह गरेको थियो ।
नेपाल एक चीन नीतिमा प्रतिवद्ध भएकाले अध्यागमन कार्यालयले छिरिङलाई कालो सूचीमा राखेको छ ।
तर शनिबार नेपाल आउन लागेका छिरिङ दलाई लामाको सरकारका सभामुख नभएर अमेरिकी नागरिक थिए ।
उनको नाम उस्तै थियो, उमेर पनि लगभग मिल्थ्यो। त्यही आधारमा अध्यागमन अधिकारीले पेम्पा छिरिङलाई नियन्त्रणमा लिए र केही घन्टा पुछताछ गरेपछि फिर्ता पठाइदिए ।
सोही घटनाप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले गम्भीर चासो देखाउँदै घटनाबाट मर्माहत भएको जनाएको हो ।
दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्( विदेशी सरकारको अनुरोधअनुसार नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको छ ।
उनले घटनाबारे नेपाल सरकारसँग थप तथ्यहरू संकलन गरिरहेको पनि जानकारी दिइन् । ‘यो विशेष घटनाको तथ्यबारे हामीले नेपाल सरकारसँग प्रष्ट पार्न भनेका छौं,’ उनले भनिन्,‘ के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारहरूबाट स्वीकृति लिनुपर्ने हो ?’