बाबुछोरीको शबको तस्वीरले विश्वको ध्यान तान्यो |

काठमाडौं । साल्भाडोरका बाबु छोरीको तस्वीरले विश्वको ध्यान फेरि एक पटक तानेको छ । साथै यसले अमेरिकाको सीमामा बढ्दो आप्रवासी संकटतर्फ पनि सबैको चासो बढाएको छ ।
तस्वीरमा अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भेनिसा आभालोसको शव घोप्टो परेर नदी किनारमा तैरिरहेको छ । बाबुको टिसर्टभित्र घुसेकी भेनिसाले बाबुको घाँटीमा हात लगाएकी छन् । यसले अन्तिम क्षणसम्म बाबुसँग रहेको बुझिन्छ ।
मेक्सिकोको पत्रपत्रिकाले यो तस्वीरलाई २०१५ मा ग्रीक द्वीपमा डुबेका तीन वर्षे सिरियाली बालकसँग गरेका छन् । तर यसले अमेरिकाको आप्रवासन नीतिमा के प्रभाव पार्छ, त्यो हेर्नभने वाँकी नै छ । उनीहरुको शव मेक्सिकोको माटमोरोस नजिकैको नदी किनारमा खोजिएको थियो, जुन टेक्सासको अन्तरराष्ट्रिय पुलबाट करिब एक किलोमिटर मात्र टाढा छ ।
त्यही सहरबाट मेक्सिकोको ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्ने जुलिया ले डकका अनुसार मार्टिनेज रामिरेज आइतबार पत्नी वेनेसा र छोरीसँग अमेरिकामा शरणका लागि आश बोकेर माटमोरोस पुगेका थिए । तर प्रक्रिया शुरु गर्न नै लामो समय लाग्ने थाहा पाएपछि नदी तरेर अमेरिका जाने निर्णय गरेको उनकी पत्नीले पुलिसलाई बताएकी छन् ।
‘उनले ६ वर्षकी छोरीलाई पारी पुर्याए र अमेरिकातर्फ छोडे । उनी पत्नीलाई लिन फर्किए । तर बालिका उनलाई पछ्याउँदै पानीमा आइन । जब उनी छोरीलाई बचाउन गए, दुबैलाई बगायो’ डकले भनेकी छन् ।
नदी किनारमा रहेका कसैले उद्धारकर्तालाई खबर गरिदियो । राति ११ बजेसम्म उद्धारकर्ताले नदीले बगाएका बाबुछोरीलाई खोजे तर, फेला पार्न सकेन । सोमबार बिहान सवा १० बजेतिर उद्धारकर्ताले शव भेट्टाए । बाबुछोरीका शव नदी किनारमा तैरिरहेको थियो । बालिकाको टाउको बाबुको टिसर्टभित्र भित्र घुसेको थियो भने बुवाको घाँटीमा अँगालो हालेकी थिइन् ।
यही तस्वीरले अहिले विश्वको ध्यान तानेको छ । जब कुनै बाबुले भेलले नबगाओस् भनेर टिसर्टभित्र छोरीलाई लुकाएको तस्वीरले भावुक बनाएको ले डकले बताइन् ।