अण्डामा बिचौलिया हाबी, किसानले पाउने ७ रुपैयाँ उपभोत्ताले तिर्ने १५ रुपैयाँ |
काठमाडौं । पछिल्लो समयमा कृषिमा विचौलियाको प्रवेश हुँदा किसान र उपभोक्ताको मूल्य दूरी अत्यधिक बढी छ । कृषि क्षेत्रमा बढी मात्रामा विचौलिया देखिएका छन् ।
किसानले ब्यवसायीक रूपमा गरेको अण्डा उत्पादनमा विचौलिया हावी हुँदा किसानहरू मर्कामा परेको खबर सार्वजनिक भएको छ । कृषिमै आत्मनिर्भर रहेका किासनहरूलाई विचौलियाकै कारण मुनाफामा कमी आउने त पक्कै नै भयो ।
उत्पादकबाट सात रुपैयाँमा खरिद गरिएको सामान उपभोक्तासम्म जादा १५ रुपैयाँ मुल्य पुग्न कुनै पनि पक्षले राम्रो मानिदैन । उत्पादन गर्ने किसान र उपभोक्ता बीचको मुल्यमा गुणात्मक फरक हुँदा त्यसले उपभोक्ता र किसानलाई नै मारमा पारेको छ । बिचौलियाको यस्तो बिगबिगी हुँदासम्म नियमन गर्ने निकाय चुप लाग्नुले नियमनकारी निकाय पनि बिचौलिया सँगसँगै छन् की भन्ने आशका नउब्जाउने कुरा पनि छैन् ।
आफूले बेच्दा लागत पनि नउठ्ने भाउमा अन्डा दिएर खुद्रा विक्रीमा मनपरी भएको देख्दा दाङ, घोराही–३ का मोहन क्षेत्री दिक्क लाग्छ । डेढ दशकदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका उनको ४ वटा फार्ममा १० हजार लेयर्स छन् । दैनिक ८ हजार ४ सयवटा अन्डा उत्पादन हुन्छ ।
बेच्नु परिरहेको भाउबाट उनी सन्तुष्ट छैनन् । ‘अन्डाको भाउ डामाडोल छ,’ बिक्रीका लागि क्रेटमा अन्डा राख्दै गर्दा भेटिएका उनले भने, ‘घाटा सहेर बेच्नुपरिरहेको छ ।’ शनिबारबाट दानाको मूल्य बढेपछि झन् तनाव थपिएको उनले दुःखेसो पोखे ।
१० रोपनी जग्गामा लेयर्स पालेका उनलाई ठूलो समस्या अन्डा उत्पादकले लागत नै उठाउन मुस्किल पर्ने बजार भाउको छ । फार्मबाट बेच्दा हातमा प्रतिगोटा अन्डाको ७ रुपैयाँ २१ पैसा पर्छ । ‘यो भाउले लागत नै उठदैन,’ उनले भने, ‘एउटा कुखराबाट अन्डा उत्पादन गर्न १० रुपैयाँ लगानी लाग्छ ।’ सानो अन्डा प्रतिगोटा ५ रुपैयाँमा बिक्री हुने गरेको छ ।
‘हामीले घाटा सहेर दिएको मूल्यअनुसार उपभोक्ताले अन्डा लिन पाए बरु सन्तोक हुन्थ्यो,’ उनले भने, ‘न हामीले भाउ पाएका छौं, न उपभोक्ताले सस्तोमा खान पाएका छन् । नाफा जति सबै बिचौलियाले खान्छन् ।’ ७ क्रेटमा २ सय १० वटा अन्डा भएको बक्सा २ हजार ५० रुपैयाँसम्म बिक्री हुने गरेको थियो । अहिले ठूलो अन्डा बक्साको १५ सय र सानो अन्डा १ हजारमा बिक्री हुने गरेको छ ।