भारतीय तरकारी र फलफूल आयातमा सरकारको कडाई, अभाबले महँगी बढ्न सक्ने |
काठमाडौं । सरकारले भारतबाट आउने फलफूल तथा तरकारीको विषादी जाँच विना ल्याउन प्रतिवन्ध लगाएको छ ।
केही दिनअघिको मन्त्रिपरिषद्बाट व्यापार घाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजनामा विषादी जाँच विना फलफूल तथा तरकारी ल्याउन रोक लगाउने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा भन्सार विभागले सबै कार्यालयलाई परिपत्र गर्दै क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएका सबै फलफूल तथा तरकारी रोकिदिएको छ ।
सबै भन्सार कार्यालयलाई परिपत्र गरिसकेको र क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएका फलफूल र तरकारी आयात रोकिएको विभागले जानकारी दिएको छ । यो निर्णयपछि भैरहवा भन्सारमा भारतबाट आएका फलफूल तथा तरकारी रोकिएका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार पास दिने भनी गरेको परिपत्रअनुसार कानुन लागू गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए ।
भारतको कानपुर, बनारस,, फरिन्दा, अहमदावाद, हैदरवाद, बरेलीलगायतको क्षेत्रबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमै रोकिएका छन् ।
भैरहवा भन्सारबाट मात्रै दैनिक आलु, प्याज, तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएका थिए । नयाँ व्यवस्थापछि भारतबाट फलफूल र तरकारी आउन बन्द भएको बताइएको छ ।
नेपालले विषादी परीक्षण विना आयातमा रोक लगाएपछि तत्कालका लागि भने फलफूल तथा तरकारीको अभाव सिर्जना हुन सक्छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले हरियो तरकारीमा नेपाल आत्मनिर्भर भइनसकेकोले विदेशबाट नआउँदा समस्या हुने बताउँछन् ।