चालु खाता घाटा अर्थतन्त्रको ७ प्रतिशतभन्दा माथि, रेमिट्यान्सको भर |
काठमाडौं । देशमा आयात हुने बस्तुको आकार बढ्दै गएको छ । पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाइजहाज तथा पार्टपुर्जालगायतका आयात उच्च भएपछि त्यसको दबाब देशको शोधनान्तर अवस्थामा परेको छ ।
देशभित्र आउनेभन्दा बाहिरिने रकम बढि हुँदा शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बैशाखसम्मको विवरण सार्वजनिक गर्दै अघिल्लो बर्षको बैशाखमा शोधनान्तर १८ अर्ब ९३ करोड मात्र घाटामा रहेको देखाएको छ ।
चालु खाता घाटा २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। ३० खर्बको अर्थतन्त्रमा यो सात प्रतिशतभन्दा बढि हो । अघिल्लो बर्षको बैशाखमा यस्तो घाटा १ खर्ब ९२ अर्ब रुपैयाँ थियो ।
घाटा बढ्दै जाँदा बिदेशी मुद्राको स्टक पनि घट्दै गइरहेको छ । गत असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ स्टक थियो । यो बैशाखसम्म आउँदा स्टक घटेर १० खर्ब ६० अर्ब ७० करोडमा खुम्चिएको छ । डलरमा हिसाब गर्दा गत असार मसान्तसम्म स्टक १० अर्ब ८ करोड थियो । अहिलेको बैशाखमा झरेर ९ अर्ब ४२ करोडमा आइपुगेको छ ।
आयात ब्यापार १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । निर्यात भने १८.१ प्रतिशत बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । निर्यातभन्दा आयात धेरै गुणा उच्च हुँदा ब्यापार घाटा १९.७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
देशको बाह्यीय आर्थिक अवस्था कमजोर भइरहँदा विदेशमा काम गर्ने नेपालीले पठाएको रकमले भने केही भरथेग गरेको छ। चालु बर्षको १० महिनामा रेमिट्यान्स बृद्धि १९.६ प्रतिशत छ । बैशाखसम्म विदेशमा रहेका नेपालीले ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पठाएका छन् ।