मजदुरको हड्तालपछि हायात होटल बन्द, यस्तो छ बन्द हुनुको कारण |
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सार्व्जिनक सुचना जारी गर्दै होटल बन्द भएको जानकारी गराएको हो ।
होटलमा कार्यरत मजदुरहरुले माग पुरा गराउन हडतालमा उत्रिएपछि होटलको सबै सेवा बन्द गरिएको कम्पनीले जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्ज मार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको छ ।
तर मजदुरहरुले भने व्यवस्थापनले पहिले नै प्रतिबद्धतता जनाइसकेका मागहरु पूरा नगरेकाले दबाबमा उत्रिन बाध्य पारिएका बताएका छन् ।
होटलमा रहेको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहालले व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आएपनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले यस्तो अवस्था आएको बताउछन् ।
होटलमा कार्यरत मजदुरहरु गएको पाँचदिनदेखि आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधा र सम्ममानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदुरहरु आजदेखि हडतालमा उत्रिएको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहलले जानकारी दिए ।
काम छाडेरै आन्दोलनमा उत्रिएको आज छैठौं दिन हो । कूल ४ सय जनशक्ती रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा गराउन दवाव दिइरहेका छन् । ३२० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन् ।
विगतमा पाएको विदाको सुविधा काटिएको, सामुहिक सौदावाजीको व्यवस्थाअनुसार गरिनुपर्ने सेवा सुविधा बृद्धिको कुरा आधिकारीक ट्रेड युनियनले माग राख्दा पनि बेवास्ता गरेकाले आजदेखि युनियनमा आवद्ध मजदुरहरु काम छोडेर हड्तालमा उत्रिएको दाहालले जानकारी दिए ।
पछिल्लो समय व्यवस्थापनमा आएका चारजना भारतीयहरुले नेपाली श्रमिक तथा कर्मचारीमाथि दुर्व्यवाहर गरेको उनको आरोप छ ।