लामिडाँडामा समिट एयरले गर्यो परीक्षण उडान |
खोटाङ । समिट एयरले मंगलबार काठमाडौं–लामिडाँडा परीक्षण उडान गरेको छ । खोटाङको लामिडाँडा विमानस्थलको स्तरोन्नति पछि समिटले परीक्षण उडान गरेको हो ।
विकट स्थानमा हवाई उडान विकल्पको रुपमा रहेको बताउँदै विमानस्थल संचालनमा आएपछि नियमित उडान हुनुपर्ने सांसद विशाल भट्टराईले बताए । काठमाडौं–लामिडाँडा उडान समय २५ मिनेटको छ ।
विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईका अनुसार विमानस्थल स्तरोन्नतिका लागि छ करोड ३४ लाख खर्चिएको छ । उनका अनुसार खराब मौसम भएको यो विमानस्थलमा दैनिक ३० वटा हेलिकोप्टर अवतरण गर्दै आएको छ । लुक्ला विमानस्थलका लागि लामिडाँडा ट्रान्जिटका रुपमा प्रयोग गर्न सकिने उनले बताए ।
विमानस्थल नियमित संचालनमा ल्याउनका लागि नजिक रहेका हलेसी, ऐसेलुखर्क, दिक्तेल लगायत क्षेत्रसम्म सडक यातायात आवश्यक रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णु उपाध्यायले बताए । वायुसेवा कम्पनीले नियमित उडान गर्नका लागि सडक संजाल विस्तार गर्न आवश्यक रहेको उपाध्यायले बताए । नेकपा जिल्ला कमिटी सचिव रामप्रसाद दंगालले उडानले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।