सुन्दर यातायातले विद्युतीय बस ल्याउने, मोबाइलबाटै भाडा तिर्न सकिने |
काठमाडौं । सुन्दर यातायात प्रालिले ३ वटा ठूला विद्युतीय गाडी ल्याउन लागेको छ । चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ ।
गाडीमा सीसी क्यामरा, जीपीएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री रहेको सुन्दर यातायातले जनाएको छ ।
भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्धेश्यले सुन्दर यातायातले सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था गर्न लागेको छ भने गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।
गाडीको परीक्षण गरेपछि एनसेल, एनटीसी लगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने, त्यस्तै ई–सेवा, खल्तीजस्ता ई–पेमेण्ट कम्पनीहरूसँग सहकार्य गरिने उनले जानकारी दिए ।
‘यो सँगै जेष्ठ नागरिक, अपांगहरूलाई सरकारले तोकेको बाहेक पनि सहुलियत दिने हाम्रो उद्धेश्य छ,’ थापाले भने ।
गाडीको टायर र स्प्रिङ पत्ता परिवर्तन गरी ग्राउण्ड क्लेयरेन्स २३० एमएम बनाउने थापाले जानकारी दिए । कम्पनीले यो गाडीलाई ७ वर्ष वारेन्टी प्रदान गरेको छ ।
यी गाडीमध्ये २ वटा रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको लक्ष्य छ। ३ वटै गाडी ३० दिनभित्र आइपुग्ने थापाले जानकारी दिए ।
‘धेरैमा ३० दिनभित्र आइपुग्छ र २ महिनाभित्र अरु १० वटा पनि आउँछ । ५०∕६० वटा विद्युतीय गाडी ल्याउने हाम्रो लक्ष्य हो’ उनले भने ।
यी गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ । विद्युतीय सवारीसम्बन्धी नियमावली नबनेको कारण व्यवसायीहरू लगानी गर्न आकर्षित हुन नसकेको उनले स्पष्ट पारे ।
‘विद्युतीय सवारीको नियमावली छैन, हामीले केलाई आधार मानेर काम गर्ने ? व्यवसायीलाई पनि आफ्नो लगानी सुरक्षित हुने वातावरण सरकारले बनाइदिनु पर्यो नि’ थापाले गुनासो पोखे ।
सरकारको नीति तथा कार्यक्रममा विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने भनिए पनि त्यो गफमा मात्र सीमित भएको उनले बताए ।