कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन |
काठमाडौं । कुमारी बैंकको विषेश साधारणसभाले अमिरप्रताप राणालाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त साधारणसभाले पाँच सञ्चालक समिति कायम भएको छ । यस अघि सञ्चालन निर्वाचनका विषयमा उच्च अदालत पाटनमा परेको रिट अन्तिम टुङ्गो नलागेकाले स्थगित गरिएको सञ्चालन निर्वाचन शुक्रबार विशेष साधारण सभाले गरेको हो ।
एक जना महिला सहित संस्थापकबाट २ र सर्वसाधारणबाट २ गरी चार सञ्चालक निर्वाचन गरेको बैंकले विद्यमान एक स्वतन्त्र सञ्चालक गरी पाँच सञ्चालक समिति कायम गरेको हो ।
संस्थापकतर्फबाट अमिर प्रताप ज।ब। राणा र कृष्ण प्रसाद ज्ञवाली र सर्वसाधारण समूह तर्फबाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीलाई शुक्रबार सम्पन्न विशेष साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो । विद्यमान स्वतन्त्र सञ्चालकमा प्रा। डा। गणेश प्रसाद पाठक रहेका थिए । नवनिर्वाचित सञ्चालक र विद्यमान स्वतन्त्र सञ्चालक सहित आजै बसेको बैठकले आगामी कार्यकालका लागि अमिर प्रताप ज.ब. राणालाई अध्यक्षमा चयन गरेको छ ।
बैंकले गत वैशाख २६ गते आयोजना गरेको अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभामा सञ्चालक निर्वाचनको प्रस्ताब राखेको थियो ।
सो प्रस्तावका सम्बन्धमा रिट दायर भई अन्तिम टुङ्गो नलागेकाले स्थगित गरिएको थियो । उक्त मुद्दाका सम्बन्धमा जेठ १० गते उच्च अदालत पाटको संयुक्त इजलासले रिट निवेदन खारेज गर्ने फैसला गरेकाले जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा मार्फत सञ्चालक निर्वाचन गर्ने निर्णय गरेको थियो ।
बैंकले अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत र गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ८ दशमलव ५ प्रतिशत गरी २१ दशमलव २५ प्रतिशत बोनस शेयरको प्रस्ताव गत वैशाखमै पारित गरेको थियो । बोनस पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब ६८ करोड ५६ लाख १५ हजार रुपैयाँ भएको छ । तर, हालसम्म उक्त बोनस शेयर सदस्यहरुको खातामा जम्मा भएको छैन् ।
बोनस अघि बैंकको चुक्तापूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । तेस्रो त्रैमासमा बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिसम्म वितरणयोग्य नाफा ६१ करोड ६० लाख ८७ हजार रहेको छ ।