केरुङ–काठमाडौं रेलमार्गको चौथो बैठक चीनमा हुने , डीपीआर बनाउने बारेमा छलफल हुने |
काठमाडौं । काठमाडौं(केरुङ रेल आयोजना अघि बढाउन नेपाल र चीनका प्राविधिकहरुको चौथो बैठक चीनको बेइजिङमा हुने भएको छ । जुन १८ देखि २२ सम्म हुने छलफलमा दुई देशबीच रेल वे कनेक्टिभिटी तथा अन्य पूर्वाधार विकासका विषयमा छलफल हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोलीले दुई देश जोड्ने पूर्वाधार विकासका विषयमा छलफल हुने बताइएको छ । टोलीमा सचिव कार्की र सहसचिव ज्ञवालीसहित रेल विभागका महानिर्देशक बलराम मिश्र तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन्। दुई देशबीच हुने वार्तामा चीनको तर्फबाट नेशनल रेलवे एड्मिनिस्ट्रेसन अफ चाइनाका भाइस मिनिस्टरले प्रतिनिधित्व गर्नेछन् ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालले यो बैठकमा प्रमुख एजेण्डाका रुपमा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को विषयलाई प्राथमिकताका साथ उठाउने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा पनि डीपीआर अघि बढाउने विषयमा छलफल भएको थियो । चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा समेत यो रेलमार्ग परेको छ ।
केरुङ–काठमाडौं रेलमार्गको चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भैसकेको छ । चिनियाँ कम्पनी चाइना रेलवे फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको हो । यो प्रतिवेदनले रेलमार्गलाई संभाव्य देखाएपछि अघि बढाउने निर्णय भएपनि लामो समयदेखि अघि बढ्न सकेको छैन । ११ महिना अघि प्रतिवेदन तयार भए पनि रेलमार्ग निर्माणबारे त्यसपछि कुनै ठोस कार्य अघि बढ्न सकेको छैन ।
कम्पनीले दिएको प्रतिवेदनअनुसार यो रेलमार्गको दूरी करिव ७२ किलोमिटर हुनेछ । जसमा १८ किलोमिटरसम्मका ७ वटा सुरुङ हुनेछन्। ७० मिटरसम्म उचाई भएका पुलहरु निर्माण हुनेछन्। ९० प्रतिशत भन्दा बढि रेलमार्ग सुरुङमार्ग र पुलमा निर्माण हुनेछ । काठमाडौंको टोखालाई स्टेशन बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो आयोजनाको कूल लागत ३ खर्ब रुपैयाँ हुनेछ । निर्माण अवधी ९ वर्ष अनुमान गरिएको छ ।
चीनले सिगात्सेदेखि केरुङ जोड्ने ५ सय किलोमिटर लामो रेलमार्ग निर्माण शुरु गर्ने तयारी गरिरहेको छ । सन् २०२२ सम्मा रेलमार्ग केरुङसम्म ल्याउने योजना छ । सिगात्सेदेखि काठमाडौंसम्म रेलमार्ग जोड्नका लागि ९ वर्षको निर्माण अवधी राखिएको हो ।