थोत्रा गाडीलाई विद्युतीय बस बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र |
काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्र थोत्रा पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय बनाउन जुटेको छ ।
६ जानाको टोलीले विगत १ महिना देखि पुराना इन्जिन गाडीलाई स्वरुप परिवर्तन गरेर विद्युतीय बनाउन लागिरहेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए । पुराना गाडीको इन्जिन फालेर कभरलाई डेन्टिङ पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको उनले बताए ।
यो गाडी ३ महिनामा तयार हुने उनले जानकारी दिए । यो तरिकाबाट गाडी बनाउन सके गाडी र इन्धन आयात घट्ने, रोजगार बढ्ने र वातावरण पनि स्वच्छ हुने पुनको विश्वास छ ।
गाडी १५ देखि २० लाखसम्म तयार हुने उनले जानकारी दिए । ‘च्यासीस पुरानैले हुन्छ, राम्रो व्याट्रीको ४ लाख ५० हजार जति पर्ला, मोटर चाहियो यस्तै यस्तै खर्चहरु हुन्छन्,’ पुनले भने ।
सरकारसँग रहेका थुप्रै पुराना गाडी कवाडीमा विक्री गर्नुको साटो यसरी मोडिफाई पुनː सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै ७७ अर्व १२ करोड ७६ लाख ६४ हजार को सवारी साधन आयात भएको छ ।