हुलासले ६ महिनाभित्रै नेपालमा विद्युतीय कार उत्पादन गर्ने |

काठमाडौं । हुलास मोर्टसले नेपालमा ६ महिनाभित्रै विद्युतीय कार उत्पादन गर्ने जानकारी दिएको छ । बिराटनरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द्र दासले भने, ‘काम अन्तिम चरणमा छ । अवस्था सामान्य रहे ६ महिनामा हाम्रो कार तयार हुन्छ ।’ उत्पादित कार शुरुमा देशका विभिन्न शहरमा टेस्टिङका लागि चलाउँने र त्यसपछि मास प्रोडक्सनमा जाने दासले बताए ।
यी कारको राम्रो अप्सन सहित मूल्य १५ देखि १८ लाखसम्म पर्नसक्ने उनले जानकारी दिए । हुलासले बनाउने विद्युतीय कार ‘फुल चार्ज’मा १६० देखि १७० किलोमिटरसम्म गुड्न सक्ने क्षमताको हुने दासले बताए । अरु विद्युतीय कारको तुलनामा मूल्य कम हुने दावी गर्दै उनले महिनामा १५ वटा जति बिक्री गर्ने लक्ष्य लिइएको उनले बताए ।
उनका अनुसार यसमा लिथियम आयन ब्याट्री प्रयोग गरिने छ भने स्पेयर पार्ट सिधै चाइना बाट आयात हुनेछ । हुलासले विद्युतीय कार बनाउन अहिलेसम्म कुनै अन्तरराष्ट्रिय कम्पनीसँग सहकार्य गरेको छैन । कुनै राम्रो कम्पनीले प्रस्ताव गरे विचार गरिने उनले बताए ।