धनगढी बिमानस्थलबाट भोलिदेखि नियमित बिमान उडान–अवतरण |
कैलाली । आहिले हवाई उडान ठप्प पारेर अहिले धमाधम धनगढी विमानस्थल स्तरोन्नतिको काम चलिरहेको छ । गत वैशाख २२ गतेबाट बन्द रहेको बिमानस्थलमा जेठ २१ गतेबाट उडान भर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी भोलिबाट उडान शुरु हुने भएको धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले जानकारी दिए ।
उनका अनुसार, विमानस्थलको धावन मार्गमा अझैसम्म ओभर लेयरको काम सम्पन्न भएको छैन । ओभर लेयरको काम जारी रहने तर उडान भने बुधवारबाटै शुरु हुने छ । ‘बुधवारबाट ३१ गतेसम्म नर्मल उडान हुने र फेरि १ गतेबाट राती काम हुने गरी वाँकी रहेको ९ सय मिटर ओभर लेयरको काम अघि बढ्ने बुड्थापाले बताए ।
धनगढी विमानस्थलको लम्बाई १८ सय मिटर रहेको छ । असार १ गतेबाट अपरान्ह ४ बजेबाट बिहान साढे ८ बजेको समय ओभर लेयरका लागि भनेर छुट्ट्याइएको विमानस्थलका प्रमुख बुड्थापाको भनाई छ ।
विमानस्थलमा धावन मार्ग ओभर लेयर, पार्किङ क्षेत्र र धावन मार्ग विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला कृष्ण जेभी सँग करिब साढे १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
दैनिक साढे ६ सय यात्रुले ओहरदोहर गर्ने धनगढी विमानस्थल मर्मत शुरु भएदेखि पूर्ण रूपमा बन्द छ । त्यसको चाप नेपालगञ्ज विमानस्थलमा परेको छ ।