धनुषाका बालबालिकालाई दिइयो क्षमता अभिमुखीकरण तालिम |

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकाका बालबालिकालाई क्षमता अभिमुखीकरण तालिम दिइएको छ । धनुषाको ढल्केवरस्थित सामुदायिक विकास संस्थाले मिथिला नगरपालिकाका विभिन्न वडामा यस्तो तालिम कार्यक्रमको आयोजना गरेको हो ।
मिथिला नगरपालिका– ६, ढल्केस्थित उक्त संस्थाले नगरपालिकाको सहयोगमा नगरभित्रका बालसञ्जाल, वडास्तरीय बाल क्लब र सामुदायिक विद्यालयस्तरीय बालक्लबलाई यही जेठ २४ र २५ गते उक्त तालिम दिएको हो ।

५२ जना बालबालिकाहरूको सहभागिता रहेको उक्त तालिममा लामो समयदेखि बालबालिको अधिकारका क्षेत्रमा काम गर्दै आएकी जमुना भुजेलले बालअधिकारसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, नगर उपप्रमुख ताराकुमारी बस्नेत, ६ नं। वडाका अध्यक्ष भक्तबहादुर बलम्पाकी, १० नं। वडाका अध्यक्ष सविनविक्रम थापा, शिक्षक हरिप्रसाद काफ्लेलगायतले मन्तब्य राखेका थिए । रेशमप्रसाद बाँस्तोलाले सञ्चालन गरेको उक्त कार्यक्रममा बालबालिकाले जनप्रतिनिधिहरूबीच विभिन्न किसिमका योजनाहरू प्रस्तुत गरी अन्तरक्रिया गराइएको थियो ।