अण्डा उत्पादक संघमा विवाद, अध्यक्षले दिए राजीनामा |
चितवन । नेपाल अण्डा उत्पादक संघको विवादले नयाँ उचाई लिएको छ । सौराहामा आयोजित १५ औं वाषिर्क साधारण सभामा वहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि अध्यक्ष त्रिलोचन कँडेलले आफ्नो कार्यसमिति नरहेको घोषणा गरेका हुन् ।
अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघमा आवद्ध सदस्यहरुले हस्ताक्षर समेत संकलन गरेका थिए । साधारणसभा शुरु भए लगत्तै गोविन्द शर्माले अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे । लगत्तै संघका अध्यक्ष कँडेलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिए ।
कंडेलले सप्लार्यससँग कमिसन खाएर किसानहरुको हकहितविरुद्ध काम गरेको आरोप किसानहरुको छ । अण्डाको मुल्य भारी गिरावट आउँदा समायोजनका लागि अध्यक्षले पहल नगरेको, संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न नसकेको, राज्यसँग आवश्यक लविङ गर्न नसकेको आरोप उनीहरुको छ ।
लगतै अध्यक्ष कँडेलले आफू अध्यक्ष नरहेको घोषणा गर्दै साधारण सभाबाट वाहिरिएका छन् । किसानहरुले भने निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष वनाउने घोषणा गरिएको छ ।
साधारणसभा भएपनि विषेश अधिवेशन मानेर नयाँ कार्यसमिति चयन गर्ने तयारी छ । साधारण सभामा नेपालभरका अण्डा उत्पादक किसानहरु सहभागी छन् ।