एफएनसीसीआईको बजेट प्रतिकृया ː स्वदेशी उद्योग प्रवद्र्धनमुखी बजेट |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजेट आएको ६ दिनपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । महासंघले स्वदेशी उद्योग प्रवद्र्धनका लागि दुई दर्जन औद्योगिक वस्तु आत्मनिर्भर हुने गरि नीतिगत व्यवस्था गरेको भन्दै त्यो व्यवस्थाको स्वागत गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशबाट आयात हुने जुस,विस्कुट,कफी लगायतका एक दर्जन वस्तुको भन्सार बढाएको छ ।
सार्वजनिक सेवामा उपलब्ध भएसम्म स्वदेशी वस्तु तथा सेवा उपयोग गर्नु पर्ने प्रावधान कडाइका साथ कार्यान्वयन स्वागत गर्दै महासंघले स्वदेशी उत्पादनको अनिवार्य प्रयोग कार्यान्वयनमा जोड दिएको छ । त्यस्तै अन्तरराष्ट्रिय सभा सम्मेलन र बैदेशिक भ्रमण लगायतका अवसरमा सरकारी तवरबाट उपहार दिनुपर्दा स्वदेशी वस्तु दिनुपर्ने व्यवस्था अनिवार्य गरिने, निर्माण सामग्रीको प्रयोगगर्दा सिमेन्ट, काठ, छड, रंग लगायतका स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति लिइने, स्वदेशी कपडा उद्योगको उत्पादनलाई प्रोत्साहन गर्न मूल्य अभिबृद्धि करमा दर्ता भएका कपडा उद्योगहरुले उपयोग गर्ने विद्युत महसुलमा ५० प्रतिशत छुट र बैंकबाट लिने कर्जामा ५ प्रतिशत विन्दुले छुट लगायतका व्यवस्थाको समेत महासंघले स्वागत गरेको छ ।
महासंघले बैज्ञानिक, अनुमानयोग्य र पारदर्शी राजस्व प्रणालीको विकासबाट निजी लगानी मैत्री वातावरण सिर्जना गरी उत्पादनमुलक उद्योग तथा व्यवसाय प्रवद्र्धन र औद्योगिक संरक्षण प्रदान गर्ने, करयोग्य सबै किसिमका आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउंदै कर छली तथा चुहावट नियन्त्रण गरी कर आधार फराकिलो बनाउने विषयको स्वागत गरेको छ ।
महासंघले आर्थिक विद्येकमा उल्लेख भएको पारिश्रमिक तथा ज्याला खर्च कट्टी सम्वन्धी व्यवस्था अव्यवहारिक रहेको जनाएको छ । महासंघले अन्तशुल्क लाग्ने वस्तुको सूची बढाउँदै लैजानु गलत भएको जनाएको छ ।