एकै दिन तीनवटा सबस्टेसन सञ्चालन |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ । प्राधिकरणले तीन सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालनमा ल्याएको छ। सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३∕११ केभी सबस्टेसनको परीक्षण गरी सञ्चालनमा ल्याइएको हो। सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमश बोदेबर्साईन र पालुङटार सबस्टेसन निर्माण गरिएको हो ।
बाँकेको धामपुरमा निर्माण भएको ३३∕११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७ को जेठबाट धामपुर सबस्टेसन निर्माण सुरु गरेको थियो । सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित,भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका समस्या झेल्दै १०∕११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छौं’, घिसिङले भने,‘मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छौं ।’
नेपाल सरकार,र विद्युत प्राधिकरणको लागनी तथा दातृ निकाय एसियाली विकास बैक (एडीबी) को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेसको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिमतर्फ १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ ।
यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सबस्टेसन सञ्चालनमा आइसकेका छन्। चालु आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा थप ५ वटा सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताए ।
‘सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, वत्ति नबल्ने लगायतका समस्या झेल्दै आएका रहेछन्, सोमबारबाट बोदेबर्साईन सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि सबै समस्या समधान भयो, उपभोक्ताहरु खुसियाली मनाउन सबस्टेसनमै आए, यस्तै खुसियाली सबै ठाउँमा देखिएको छ’,ढकालले भने ।
नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सबस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका करिब ९५ हजार जनता लभान्वित हुने छन्। सबस्टेसनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंहले बताए ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरमा नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।