उपत्यकामा राती १० बजेसम्म सार्वजनिक गाडी चढ्न पाइने |
काठमाडौं । पटक पटक संचालन र बन्द हुँदै आएको रात्रीकालीन यातायात सेवा काठमाडौं उपत्यकामा फेरि शुरु गर्ने तयारी गरिएको छ । यातायात व्यवस्था विभागले काठमाडौंका मुख्य स्थानहरुमा कम्तीमा राती १० बजेसम्म सार्वजनिक सवारीसाधन संचालन हुने व्यवस्था मिलाउने भएको हो ।
विभागले निजी सवारी कम्पनी, साझा यातायात, नेपाल प्रहरी, ट्राफिक लगायतका निकायसंग छलफल शुरु गरिसकेको छ ।
उपत्यकामा पर्यटकको चाप भएको ठमेल लगायतका स्थान, अस्पताल, व्यापारिक स्थल, यात्रुको चाप बढी हुने रुटमा रात्रीकालीन सेवा संचालन गर्न सकिने निष्कर्ष छलफलबाट निस्किएपछि यसका लागि तयारी शुरु भएको हो ।
ती स्थानहरु कम्तीमा राती १० बजेसम्म भाडाका सवारीसाधन संचालन गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । त्यसपछि विस्तारै राजधानीका अन्य रुटमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ ।
अहिले भाडाका सवारीसाधन चढ्ने वित्तिकै १५ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यसमा अशक्त, जेष्ठ नागरिक, विद्यार्थी लगायतलाई ४५ प्रतिशतसम्म छुट दिनुपर्ने व्यवस्था छ । तर रात्रीकालीन सेवाका लागि चढ्ने वित्तिकै २० रुपैयाँ भाडा र छुटको व्यवस्था हटाउनुपर्ने यातायात ब्यवसायीको माग छ ।
एक साताभित्रमा सरोकारवाला सबै निकायसंग छलफल र सुझाव लिने काम सकिनेछ । यातायात कम्पनीहरुले रुट इजाजत लिँदा विहान ५ बजेदेखि राती १० बजेसम्म सम्म सेवा संचालन प्रतिबद्धता जनाएका हुन्छन् । तर हालसम्म पनि यो कार्यान्वयन हुन सकेको छैन ।
सवारी ऐनमै उक्त व्यवस्था रहेपनि यात्रु नपाउने र सुरक्षा नहुने भन्दै यातायात व्यवसायीहरु राती बस चलाउन मान्दैनन् । यसबाट सर्वसाधारणलाई राती बाहिर निस्कँदा यातायातका साधन नपाउने समस्या परिरहेको छ ।