नयाँ ठेकेदार खोज्न मेलम्चीमा टेन्डर आह्वान |
काठमाडौं । मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन सरकारले नयाँ ठेकदारको खोजी गर्न टेण्डर आह्वान गरेको छ । आयोजनाको वाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर ठेकदार खोज्न थालिएको हो ।
आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने वाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का दिन लागिएको हो । सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम चाहिँ दुई वटा नयाँ ठेकेदारमार्फत गराइने छ ।
हाल सुरुङ र हेडवक्र्सका कामका लागि फरक–फरक ठेकेदार छनोट गर्न लागिएको छ । तर, हाईड्रो–इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का भने त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रतिस्पर्धा पाउने भएका छन् ।
हेडवक्र्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको छ । यी दुई टेन्डरमा योग्य स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् । यसअनुसार अब टेन्डर प्रक्रिया टुंगिएर ठेकेदारले समयमै काम थाले पनि मेलम्चीको पानी काठमाडौंमा एक वर्षभित्र नआउने प्रष्ट भएको छ । त्यसमाथि ठेकेदारहरु अहिले आन्दोलनमा छन् । सरकारले नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो ।
हेडवक्र्सतर्फको ठेक्का पाउनेले पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ । यो ठेक्का प्राप्त गर्नेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वय पनि गर्नुपर्ने आयोजनाले जनाएको छ ।
यस्तै सुरुङमार्गको ठेक्का प्राप्त गर्नेलाई सुरुङको अन्तिम तवरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्न जिम्मेवारी तोकिएको छ । यसमा छानिने ठेकेदारले पनि सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने छ ।
यो सबै काम सक्नका लागि करिब २ अर्ब ५३ करोड खर्च हुने अनुमान छ । सरकारले आगामी वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुनेछ ।
मन्त्रिपरिषद बैठकले दुई हप्ताअघि मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदले रोकिएको काम सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार ठेक्का लगाएर अघि बढाउन बाटो खोलेपछि नयाँ टेन्डर भएको हो । यो दफामा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था छ ।