हुलाकी राजमार्गलाई साढे १३ अर्ब बजेट |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड बजेट छुट्याईको छ ।
यो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्वपश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ, जसको लम्बाइ २१८ किलोमिटर छ । १७ मध्ये ७ खण्डमा नेपाल सरकारले काम गरिरहेको छ जसको लम्बाई, २१८ किलोमिटर छ ।
दोस्रो चरणमा ४ सय ३७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । करिब साढे ५ सय किलोमिटर खण्डमा काम नै सुरु भएको छैन । अहिलेसम्म बसन्ता जंगलको सेक्न बाहेक लम्की–टिकाकपुर–धनगढी, लमही–कोइलाबास, चारआली–केचना, भद्रपुर–राजगढ, जितपुर–तौलिहवा, नवलपुर–मलंगवा, कदमचोक–कपतौल र गितानगर–घान्द्रक लगायतका खण्ड मात्रै कालोपत्रे भएको छ ।
अन्य खण्डहरु वर्षमा हिलाम्ये र वर्षमा धुलाम्य हुने गरेका छन् । जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती त भएको छ नै, राजमार्ग भएर आवातजावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता छ । भारत सरकारले जिम्मा लिएका खण्डमा अझै पनि काम सुस्त नै छ ।
आयोजनाको निर्माण सक्न ४७ अर्ब लाग्ने पुरानो अनुमान थियो । अब त्यति लागतमा आयोजना बन्ने अवस्था छैन । हुलाकी सडकका लागि भारतले ८ अर्ब रुपैयाँ मात्र खर्चँदैछ । बाँकी रकम नेपाल सरकारले आन्तरिक श्रोतबाटै जुटाउनुपर्छ । हुलाकी सडकमा २ सय १९ वटा पुल पनि निर्माण गर्नुपर्नेछ । तर, करिब ८० वटा पुल निर्माणधीन छन् भने ५० भन्दा बढी वटा पुल निर्माणको काम नै शुरु भएको छैन ।
हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम हुँदैछ । तीन वर्षमा पहिलो चरणको काम सक्ने गरी सरकारले काम शुरु गरेको थियो ।